Monday, November 2, 2009

गणतन्त्रको खेती

विक्रम सुब्बा

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु न्ारेर
गल्ली-गल्ली सडक र चोक जोत्कै जाँदैछन्
फाली अड्काउँने दरबारका जगहरु ज्ोत्दै जाँदैछन्
सात समुद्रपारि र छिमेकका फिरङ्गी-मोडलका
ग्रयान्डडिजाइन र रोडम्यापहरु जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आपुनै रगतको बीउ हाल्दै जाँदैछन्
यो महान् खन-जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरुमा गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरु
बङ्करहरु पनि जोत्दै-जोत्दै जाँदैछन् ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु…
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

- पारिजातको ११ औं स्मृति दिवस २०६१ को तत्वावधानमा पर्यटन बोर्डको सभाकक्षमा वाचित कविता