Wednesday, May 18, 2011

कमरेड अदिती उर्फ कवि निभा शाह

माओहरु
बिल गेट्स बनेपछि
छाप्रोहरुले भने
यो त
रगतको होली हो
महलहरुले भने
यही त दिपावली हो ।

उनी कवि हुन् तर यस्तो लाग्छ शब्द हैन आगो ओकल्छिन् । माथि उल्लेखित 'माओको खेती' शीर्षकको उनको कविता पढ्दा पनि त्यस्तै अनुभूत हुन्छ । रैथाने सुगन्ध र व्यङ्ग्यात्मक शैली उनको कविताको अर्को आयाम हो । उनी अर्थात् धारिलो प्रगतिवादी कवि निभा शाह ।

निभा शाहको जन्म २०२८ साल असोज १० गतेका दिन अछाम जिल्लाको वैद्यनाथ गाविस वडा नं। ५ स्थित कालीमाटी गाउँमा आमा सुशीला शाह र बाबा तेजबहादुर शाहको दोस्रो सन्तानको रुपमा भएको हो ।
निभाले कक्षा ४÷५ मा पढ्दा-पढ्दै प्रकृतिमा कविता देख्न थालेकी थिइन् । पहिलो कविताको रुपमा उनी पुूलको विषयमा लेखेको कविता स्मरण गर्छिन् । रेडियो नेपालको बालकार्यक्रममा उनको 'हामी यो देशको कर्णधार'शीर्षकको कविता प्रशारित भएको थियो । त्यसबेला उनी कक्षा सातमा अध्ययनरत थिइन् । त्यसपछि भारतबाट प्रकाशित हुने 'नवयुवा' पत्रिकामा २०५१ सालमा 'मैले नजन्माएकी छोरी' शीर्षकको कविता प्रकाशित नभइन्जेलसम्म उनको साहित्य लेखन स्थगित रह्यो । यसको मूल कारण प्रोत्साहन र वातावरणको अभाव थियो । तर त्यतिन्जेलसम्म उनीभित्र लेखकीय वीज भने अङ्कुराइसकेको थियो ।

एसएलसीपछि कलेज पढ्ने सिलसिलामा उनी भारत पुगिन् । उनले लखनउबाट प्रमाणपत्र तह र दिल्लीबाट मिडिया कम्युनिकेसनमा स्नातक गरेकी छिन् । भारतमा पढ्दा एमाले निकट विद्यार्थी सङ्गठनसँगको सम्पर्कका कारण गोर्कीकृत 'आमा' उपन्यास पढ्ने मौका पाइन् । त्यही उपन्यासले उनलाई कम्युनिष्ट विचार र साहित्यप्रति आकर्षित गर् यो । उनी पुनः कविता लेखनको यात्रामा अघि बढिन् । अन्ततः 'आमा' उपन्यास नै उनको जीवनमा ुटर्निङ प्वाइन्टु सावित भयो ।

स्नातक सकेर २०५४ सालमा उनी नेपाली फर्किइन् र एक वर्ष अछाममा अध्यापन गरिन् । सँगसँगै जनादेश दीशाबोध जनआवाज लगायतका पत्रिकाहरुमा कविता एवम् राजनैतिक लेखहरु पनि निरन्तर लेखिन् । त्यसपछि काठमाडौंमा रहेर २०५७ सालसम्म पत्रकारितालाई निरन्तरता दिइन् । अन्ततः २०५८ सालमा कमरेड अदिती उर्पु निभा शाह भूमिगत भएर भारत पुगिन् । भारतबाट प्रकाशित हुने पत्रिका 'थर्ड वल्र्ड' तेस्रो विश्व मा उपसम्पादकको भूमिकामा काम गर्न थालिन् । तेस्रो विश्वमा काम गर्दागर्दै २०५९ असारमा कार्यक्रम भइरहेको बेला दिल्लीस्थित त्रिवेणी हलबाट राम कार्की महेश्वर दाहाल र मोती रिजालसहित गिरपुतार भइन् । त्यसपछिका नौ महिना उनलाई काठमाडौंको महिला भद्रबन्दी गृह जेलमा राखियो ।

बधशालामा हुँदा जीवनको ठेगान हुँदैनथ्यो तर हररात मुक्तिको सपना देख्थिन् उनी । भौतिक शरीर युद्धमोर्चाबाट टाढा थियो तर विचारको मोर्चा अझै बलियो भएको थियो । उनी जेलमा पनि नियमित कविता लेख्थिन् र प्रत्येक हप्ता उनीसँगै रहेका अरु ४०/५० जना आस्थाका महिला बन्दीहरुलाई सुनाउँथिन् । ती कविताहरुलाई समेटेर 'जेल कविता सङ्ग्रह' प्रकाशन गर्ने सपना थियो उनको । सुरक्षित होला भनेर भारतमा बस्ने एमाले समर्थककहाँ पाण्डुलिपि राख्न दिइन् तर पछि हरायो भन्ने खबर आयो । जीवनको एउटा अध्याय नै हराएकोमा थकथक मान्छिन् उनी । साथीहरुबाट प्राप्त भएका केही कविताहरु भने प्रकाशित भएका छन् ।

जेलबाट छुटेपछि कमरेड अदिती पुनः जनयुद्धमा जोडिइन् । काभ्रे मकवानपुर सिन्धुली र सेती-महाकालीका गाउँगाउँका महिलाहरुलाई जगाउँदै सङ्गठित गर्दै बमगोलासँग लुकामारी खेल्दै सहयोद्धाहरुलाई स्कुलिङ गर्दै हिँडिरहिन् ।
शेली वड्स्रवथ किट पाश र इच्छुकका कविताहरु मन पराउने निभा सामूहिक सङ्घर्षकी पक्षपाती हुन् । अहिले उनी अखिल नेपाल लेखक सङ्घको केन्द्रीय कोषाध्यक्ष प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य र प्रतिभा प्रवाहको उपाध्यक्षको भूमिकामा कि्रयाशील छिन् । विशेषतः कवितामा कलम चलाउने उनका दुई कविताकृति- इन्कलाब जिन्दावाद २०६३ र कालापानीकी द्रौपदी २०६६ प्रकाशित छन् । पूर्णकालीन लेखक बन्ने निर्णयमा पुगेकी उनको तेस्रो कविताकृति 'मनसरा' चाँडै प्रकाशित हुँदैछ भने उपन्यास पनि लेखिरहेकी छिन् ।

साहित्य सङ्गम पुरस्कार चितवन र नागार्जुन साहित्य पुरस्कार काठमाडौं बाट सम्मानित उनी शक्तिशाली कवि बन्नुको पछि सानो छँदा आमाले सुनाउने चिनिया कथा छ कालिमाटीकी कटुवालनी लोहारकी बुहारीले भोगेको लैङ्गिक उत्पीडन छ अछामका दलितहरुले भोगेको दलन छ र छ मकवानपुरको तामाङबस्ती र कैलालीको थारुबस्तीले भोगेको चरम गरिबी ।

कविता 'बुलेट'जस्तो हुनुपर्ने मान्यता छ उनको । समाज रुपान्तरणमा भूमिका खेल्ने कविताहरु नै बुलेट हुन् । 'सपनाहरु' शीर्षकको कवितामा उनी यसरी बुलेट प्रहार गर्छिन्-

सपनाको चिहान हुँदैन
मरे भनेका सपनाहरु
ज्वालामुखी लिएर आउँछन् ।