Monday, November 2, 2009

गणतन्त्रको खेती

विक्रम सुब्बा

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु न्ारेर
गल्ली-गल्ली सडक र चोक जोत्कै जाँदैछन्
फाली अड्काउँने दरबारका जगहरु ज्ोत्दै जाँदैछन्
सात समुद्रपारि र छिमेकका फिरङ्गी-मोडलका
ग्रयान्डडिजाइन र रोडम्यापहरु जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आपुनै रगतको बीउ हाल्दै जाँदैछन्
यो महान् खन-जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरुमा गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरु
बङ्करहरु पनि जोत्दै-जोत्दै जाँदैछन् ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु…
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

- पारिजातको ११ औं स्मृति दिवस २०६१ को तत्वावधानमा पर्यटन बोर्डको सभाकक्षमा वाचित कविता

Wednesday, October 28, 2009

गीत र धुनहरु

तिमी मलाई सारङ्गीका केही धुनहरु देऊ-
म तिमीलाई एउटा विवश गरिबको व्यथा भन्छु ।

म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरुलाई धुनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु ।

दुःखहरुको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो जो डढेलामा फेरिन सक्छ ।

तिमी मलाई अब यी दुःखहरुको सिङ्गो धुन देऊ
म यी दुःखहरुलाई आजका सिङ्गा गीतहरुम फेर्छु
म यी गीतहरुलाई प्रतिशोधका रापहरुमा फेर्छु ।

तिमी मलाई केवल मन पगाल्ने धुन देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरु देऊ
म गीतहरुलाई परिवर्तनको इतिहासमा फेर्छु ।

पारिजात

- नाकिमा
संस्कृति जो मान्दैन उसलाई हामी मानिस मान्दैनौं । प्रत्येक युवा/युवतीको प्रेमिका/प्रेमी हुनुपर्ने यो अनिवार्यता संस्कृति थियो रे दार्जिलिङमा त्यो ताका । त्यो संस्कृति जसले पारिजातलाई एउटा गहिरो त्रासदी र चार उपन्यास 'संघर्ष', 'वर-पिपल', 'मानव अन्तर्यामी', र 'शारदा दियो । ती उपन्यास जसलाई उनले च्यातिदिइन् ।
वि.सं.१९८४ बैशाखमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छु र त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा स्थापित भयो ।
२०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश रायन निनु मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रमिसंह जसलाई पारिजातले ुगडफादरु मानेकी थिइन् संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो पहाडसँगै' प्रकाशन गरिन् ।
२०५० साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त देखियो जसको शिरमा थियो लेनिनको फोटो ।
-शब्दशिखा मासिकको दोस्रो अंकबाट

Monday, October 19, 2009

मृत्यु

धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्त हो भनेर ।

मृत्युको कुरालाई धर्म ग्रन्थहरुबाट
जस्ताको तस्तै ग्रहण गरेकी छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरुबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मु लुकाउने दष्प्रयास गरेकि छु
तथापि मसँग मृत्युको केहि साक्षात कथा छ ।

मट्मास दिएर नून साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृतयु भयो
ज्वरोको धङ-धङीमै ठालुले जोताको
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असंतुलित भएर भूईंमा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ साइडतिर हाँकिरहेको
महानगरको एउटा सफेद पोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मार्यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरु भए
खान नपाउनेहरुको
अधिकार खोज्नेहरुको
दुई पाइलो जग्गा माग्नेहरुको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एएटा कविता लेख्न मन लागेको छ
मृत्यु विसंगति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरुबीच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मेरका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै पुषकार गरी हिँड्दा रहेछन्
मृत्यु त संगठन भएर
अंगालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरुतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र
भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरु
उनीहरुका मृत्यु त
संघर्ष गर्न तमतयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने संघर्षकारीहरुको
पाखुरी पाखुरीमा
मु्ठ्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्
मृत्यु त संगीन भएर
वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किदा रहेछन् ।