Wednesday, October 28, 2009

गीत र धुनहरु

तिमी मलाई सारङ्गीका केही धुनहरु देऊ-
म तिमीलाई एउटा विवश गरिबको व्यथा भन्छु ।

म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरुलाई धुनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु ।

दुःखहरुको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो जो डढेलामा फेरिन सक्छ ।

तिमी मलाई अब यी दुःखहरुको सिङ्गो धुन देऊ
म यी दुःखहरुलाई आजका सिङ्गा गीतहरुम फेर्छु
म यी गीतहरुलाई प्रतिशोधका रापहरुमा फेर्छु ।

तिमी मलाई केवल मन पगाल्ने धुन देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरु देऊ
म गीतहरुलाई परिवर्तनको इतिहासमा फेर्छु ।

No comments:

Post a Comment