Monday, October 19, 2009

मृत्यु

धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्त हो भनेर ।

मृत्युको कुरालाई धर्म ग्रन्थहरुबाट
जस्ताको तस्तै ग्रहण गरेकी छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरुबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मु लुकाउने दष्प्रयास गरेकि छु
तथापि मसँग मृत्युको केहि साक्षात कथा छ ।

मट्मास दिएर नून साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृतयु भयो
ज्वरोको धङ-धङीमै ठालुले जोताको
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असंतुलित भएर भूईंमा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ साइडतिर हाँकिरहेको
महानगरको एउटा सफेद पोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मार्यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरु भए
खान नपाउनेहरुको
अधिकार खोज्नेहरुको
दुई पाइलो जग्गा माग्नेहरुको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एएटा कविता लेख्न मन लागेको छ
मृत्यु विसंगति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरुबीच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मेरका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै पुषकार गरी हिँड्दा रहेछन्
मृत्यु त संगठन भएर
अंगालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरुतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र
भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरु
उनीहरुका मृत्यु त
संघर्ष गर्न तमतयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने संघर्षकारीहरुको
पाखुरी पाखुरीमा
मु्ठ्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्
मृत्यु त संगीन भएर
वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किदा रहेछन् ।

No comments:

Post a Comment